सल्यान,१५ फागुन । सल्यानको कपुरकोट गाउँपालिकामा विपद्को समयमा खोज तथा उद्धार गर्ने जनशक्ति तयार गर्ने उद्धेश्यले बिपद् ब्यबस्थापन सम्बन्धी तालिम सुरु गरिएको छ । बिपद् ब्यबस्थापन लगायतका बिषयमा गाउँपालिका भित्र रहेका कार्यालय तथा बिद्यालयहरुमा कार्यरत सहयोगीहरुलाई प्रथम उद्धारकर्ता तयार गर्ने उद्देश्यले तीन दिने सामुदायिक खोज,उद्धार तथा आपतकालीन तालिम सुरु गरिएको हो । गाउँपालिकाको आयोजना तथा सिद्धि बक्स गण सल्यानको प्राबिधिक सहयोगमा सुरु भएको तालिममा विपद व्यवस्थापन, भुकम्पीय प्रतिकार्य, बाढी तथा पहिरो प्रतीकार्य, आगलागीको प्रतिकार्य, खोज तथा उद्धारका विधि, महामारी,प्राथामिक उपचार,चटयाङ,बिधूतिय झड्का लगायतका बिषयमा सैद्धान्तिक र प्रयोगात्मक अभ्यास गराइने प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलीले जानकारी दिनु भएको छ ।
तालिमको सुरुवात गर्दै कपुरकोट गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले विपद् जोखिम तथा दुर्घटना न्यूनीकरणका लागि पालिका स्तरमा दक्ष जनशक्ति बनाउन तालिम दिइएको बताउनु भयो । उँहाले गाउँपालिका भित्र रहेका कार्यालय तथा बिद्यालयको सुरक्षालाई पहिलो प्राथामिकतामा राखेर कार्यालय सहयोगीहरुको लागि तालिम सञ्चालन गरिएको बताउनु भयो । तालिमले विपद्को जोखिम न्यूनीकरणमा सहयोग पुग्ने भण्डारीको भनाई छ । तालिमको प्रमुख प्रशिक्षकमा सिद्धि बक्स गण सल्यानका सेनानी सुरोज कुमार ओझा र उप सेनानी सुदर्शन ढुङ्गाना रहेको गाउँपालिकाले जनाएको छ ।